
दमौली ,१९ पुस ।
अंग्रेजी नयाँ वर्ष मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको भीड बढेको थियो । कोभिड–१९ को सङक्रमणले थला परेका बन्दीपुरका पर्यटन व्यवसायीहरु भीड बढेपछि खुसी भएका छन् ।
नयाँ वर्षमा पर्यटक खचाखच भएर होटल बुक हुन थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेको उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाईका सभापति बैस गुरुङले बताए । बन्दीपुरमा नयाँ वर्षमा करीब चार हजार पर्यटकको आवागमन भएको र त्यसमध्ये एक हजार देखि एक हजार दुई पर्यटक बास बस्ने गरेर आएको गुरुङले बताए । सरकारले पर्यटकीय स्थल खुला गरेपछि विस्तारै पर्यटक बढ्न थालेकोले आशाको किरण देखिएको उनी बताउँछन् । ‘जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने राती बास बस्ने गरेका छन् ।’ सभापति गुरुङले भने । सरकारले असोज १ गतेबाट पर्यटकीय होटल खोल्ने निर्णय गरेपछि गण्डकी प्रदेशको ग्रामिण पर्यटनको एक नम्बर सूचीमा रहेको पर्यटकीय गन्तव्य बन्दीपुर सञ्चालनमा आएका छन् ।
नेपाल सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । एक दिन विराएर मात्रै कोठाको प्रयोग गर्ने पाहुनाले साबुन पानी वा सेनिटाईजर प्रयोग गरी हात धुने, सामाजिक दुरी कायम गरेर होटल, रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाले कसैलाई पनि कोरोनाको सङ्क्रमण नभएको अध्यक्ष प्रधान बताउँछन् ।
यहाँका सबै होटल तथा रेस्टुरेन्टहरु खुलेका छन् । नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चहलपहल सुरू भएको छ । रात बस्ने आन्तरिक पर्यटकहरु आएका छन् । बन्दीपुरका अधिकांश होटलहरुमा अहिले पर्यटक बसेका छन् । रेस्टुरेन्टमा खाजा खाने पर्यटकहरु पनि छन् । टुँडीखेल स्थित हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्टका सञ्चालक संगिता प्रधानले पर्यटक आउन थालेपछि व्यवसायले गति लिन थालेको बताईन् । पर्यटनको सिजन शुरु भएकोले अब बढ्ने अपेक्षा छ’ प्रधानले भनिन् ।
नयाँ वर्षमा सबै होटलहरु भरीएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । समितिका अनुसार बन्दीपुर साना र ठूला गरी ८० वटा होटल तथा रेष्टुरेन्छ रहेका छन् । ‘बन्दीपुरमा आवागमन सुरू भएको छ’, प्रधानले भनिन् पहिलाको जस्तो नभएपनि सन्तोष गर्ने अवस्था आएको छ ।’ लामो समय बन्दीपुर बन्द भएकाले ठूलो लगानी गरेका व्यवसायीहरु मारमा परेका छन् । बैंकको व्याज र किस्ता तिर्न नसकेर व्यवसायीहरु निराश बनेका थिए । पर्यटक आउनेमा आश मारिसकेका यहाँका व्यवसायीहरु नयाँ वर्षमा आन्तरिक पर्यटक आउन थालेपछि खुसी भएका हुन् । पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुर ग्रामिण पर्यटनमा क्षेत्रमा बन्दीपुरलाई एक नम्बर सूचीमा राखेको छ ।