सेतीमादी संवाददाता
दमौली, ०८ पुस ।
म्याग्दे गाउँपालिकाको भवन बुधबार शिलान्यास गरिएको छ ।

भवनको कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख तारानाथ रानाभाटले शिलान्यास गरेका थिए ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाको अध्यक्षमा भएको कार्यक्रममा गण्डकी सभा सदस्यहरु दोबाटे बि.क., सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उप–प्रमुख पवित्रा पौडेल, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले बोलेका थिए ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार उक्त भवन निर्माणको लागि भ्याट र कर बाहेक १० करोड ३५ लाख ६९ हजार ८८४ रुपैयाँको डिपिआर तयार गरिएको छ । भवन बनाउनको लागि यो वर्ष गाउँ सभाबाट स्वीकृत विनियोजित रकम रु ३ करोड रहेको छ । थप रकमको लागि आव २०७८÷०७९ मा सङ्घीय तथा प्रदेश सरकारमा माग गरी पठाईने भएको छ । दुई वर्ष भित्र नै भवन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोही ठाउँ नजिकै ६ सय मानिस अट्ने सभाहल समेत बनाइने भएको छ । भवन निर्माणको लागि आव०७६÷०७७ मा रु १० लाख लागतमा उपभोक्ता समितिबाट जग्गा सम्माउने, जग्गासँग सम्बन्धित बाटो निर्माण गर्ने कार्य पुरा भएको छ । यो वर्ष प्रारम्भीक चरणमा ठेक्का लाग्ने गरी निर्णय भएको लागत रकम भ्याट बाहेक ६ करोड ८५ लाख ५० हजार २५ रुपैयाँ रहेको छ ।
यसैबीच म्याग्दे गाउँपालिका–४ निवासी एक समाजसेवी दम्पत्तिले म्याग्दे गाउँपालिकालाई ८ लाख भन्दा बढी मूल्य पर्ने जग्गा दान दिएका छन् । जग्गा दान दिनेमा कृष्णप्रसाद वाग्ले र सावित्रा वाग्लेले रहेका छन्।
पृग्थ्वीराजमार्गसँग जोडिएको सो गाउँपालिकाको वडा नम्बर ४ नारिङ्गे, थर्पु बजार नजिकै भवन निर्माणको लागि १ रोपनी १ आना ३ पैसा ३ दाम जग्गा निशुल्क प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । आफ्नो ठाउँमा पालिका बन्दा स्थानीय वासिन्दालाई सेवा लिन सहज होस् भनेर जग्गा दान दिएको जग्गा दाता वाग्ले बताए ।
आफ्नो पुरै परिवारको सहमतिमा खुसी भएर जग्गा दान दिएको वाग्लेको श्रीमती सावित्राले बताईन् । जग्गा दाता दुवै जनालाई बुधबार गाउँपालिकाले सम्मान गरेको छ । प्रमुख प्रशासकीय भवनको शिलान्यासको अवसरमा नेपाली काँग्रेसका नेता तथा पूर्व सभामुख रानाभाट र म्याग्दे गाउँपालिकाकी अध्यक्ष राना, उपाध्यक्ष घिमिरेले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । दान प्राप्त जग्गा र सार्वजनिक जग्गा ८० रोपनी १४ आना र ३ पैसा जग्गामा प्रशासकीय भवन निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।