
अमरराज नहर्की
दमौली ,२६ मंसिर ।
म्याग्दे गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बरमा पर्ने उमाचोक सुन्तला ब्लक क्षेत्रमा विहिबार जनप्रतिनिधी र सरोकारवाल कार्यालयका कर्मचारीहरु पुगेका छन्।
कृषि ज्ञान केन्द्र तनहुँको आयोजना स्थलगत अवलोकनको लागि पुगेका हुन् । किसानको पिरमर्का बुभ्mने, उनीहरुको समस्या समाधान गर्ने तथा प्राप्त सुविधाको सदुपयोग भए नभएको बारेमा जानकारी लिन टोली पुगेको हो । जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा टोली पुगेको थियो । उक्त अवसरमा समन्वय प्रमुख वाग्लेले सुन्तला बगैचा नमूना रहेको र कृषकले मनग्गे आम्दानी गरेको देखेर गरे के हुँदैन भन्ने अनुभूति गरेको बताए । कार्यक्रममा समन्वय उपप्रमुख पवित्रा पौडेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवि राना, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर राना लगायतले जानकारी लिएका थिए।
कार्यक्रम उमाचोक सुन्तला ब्लक अध्यक्ष निर्मल अधिकारीको अध्यक्षतामा भएको थियो । उक्त वल्क क्षेत्रमा वार्षिक रुपमा कृषकले दुई करोड रुपैयाँको सुन्तला बिक्री गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । कृषि ज्ञान केन्द्रले कृषकको बगैचा सुधारको लागि २५ लाख रुपैयाँ बल्क क्षेत्रका कृषकका लागि अनुदानको व्यवस्था गरेको छ ।