
दमौली,२५ मंसिर ।
खरको छाना हटाउन व्यास नगरपालिकामा ४ सय जनाले निवेदन दिएका छन् ।
सहरी विकास मन्त्रालयको खरको छाना हटाउने योजना अनुरुप मुलुकभरी खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत तनहुँमा पनि जस्तापाताको छाना राख्ने काम भईरहेको छ । अभियान अन्तर्गत व्यास नगरपालिकामा उक्त संख्यामा आवेदन परेको र त्यसको मूल्याङ्कन भई रहेको व्यास नगरपालिकाका इन्जिनियर अमृत केसीले जानकारी दिए । व्यास नगरपालिकाको वडा नम्बर २,३, ४ वडाबाट भने आवेदन नपरेको उनले बताए । खरको छाना नभएकोले आवेदन नपरेको हुनु सक्ने उनले बताए । जस्ता पाता राख्न निवेदन दिनेहरुको मूल्याङ्कन भईरहेको आइतबार टुंगाईने ईन्जिनियर केसीले जानकारी दिए ।
जिल्ला भित्र पराल र खरका छाना हटाउने उद्धेश्यका साथ सुरक्षित नागरिक आवास कार्यक्रम शुरु भएको छ । संघीय कार्यान्वय इकाई पोखराले कात्र्तिक १२ गते पत्र पठाई सुरक्षित नागरिक आवास कार्यक्रम अगाडी बढाउने पत्र पठाएकोले कार्यान्वयन प्रकृया अघि बढेको स्थानीय तहहरुले जानकारी दिएका छन् ।
गरिबीको रेखामुनी भएका, दैवी प्रकोपमा परी घरबार विहिन भएका परिवारलाई लक्षित गरी सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गर्न पत्र प्राप्त भएकोले खरको छाना विस्थापित भईरहेको व्यास नगरपालिकाका शाखा अधिकृत मेघराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार खरको छाना भएको प्रति परिवारलाई जस्ता पाता राख्नको लागि ५० हजार अनुदानको व्यवस्था गरिएको छ ।
नेपालको संविधानमा आवासलाई नागरिकको नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको छ । अहिले मुलुकका ७६ प्रतिशत घर असुरक्षित र अव्यवस्थित रहेको अनुमान गरिएको छ । कार्यक्रम अन्तर्गत जस्ता पाता र सहुलियत दरको काठ उपलब्ध हुने संघीय कार्यान्वय इकाईले जनाएको छ ।