दमौली ,२२ मंसिर । बेलायतको राजनीति र स्वास्थ्य सेवामा समेत उच्च तहमा पुगेका व्यास नगरपालिका वडा नं १२ कमलबारी पुख्यौली घर भएका डा. बच्चुकैलाश कैनी मातृभूमिमा कर्म गर्न नेपाल फर्किने भएका छन् ।

डा. कैनी दुई हप्ता भित्र मातृभूमि नेपाल आउने तयारीमा रहेका छन्। सन् २००५मा अक्टबरमा सपरिवार बेलायत गएका डा. कैनीले बेलायतमा सन् २०१५ देखि ०१९ सम्म डार्टफोर्ड काउन्सिलरको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए भने सन् २०१७मा बेलायती संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीबाट उम्मेदवार समेत बनेका थिए ।
त्यस्तै डा. कैनीले लण्डनस्थित क्वीन एलिजावेथ अस्पतालमा वरिष्ठ व्यवस्थापकको जिम्मेवारी समेत निर्वाह गरेका थिए । बेलायतबाट नेपाल फर्कने तयारी गरेका डा. कैनी नेपाल फर्किएपछि ललितपुरको हरिसिद्धिमा नेपाल क्यान्सर अस्पतालमा सिइिओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
बेलायतमा सिकेको ज्ञान र सीप लिई मातृभूमि नेपाल फर्किने सोच पहिले देखिनै बनाएको भएपनि सबै हिसाबले अहिले मिलेको डा. कैनीले बताए । आफू र श्रीमती नेपाल फर्किएपनि छोरा र छोरी भने बेलायतमा रहने डा. कैनीले बताए ।
बेलायतको उच्च तहमा पुगेका डा. कैनी स्वदेश फर्किने खबरले बेलातयमा एक किसिमको तरङग उत्पन्न हुन पुगेको छ ।