दमौली , १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहित कार्यकारणी समिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार सम्पन्न महासंघको साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष हुनेछ ।
यसैबीच शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाबाट तनहुँका उद्योगी व्यवसायी देवकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठले ६५ मत प्राप्त गरेका थिए । कुल १८ स्थानका लागि भएको निर्वाचनमा श्रेष्ठले ८ औं स्थानमा बाजी मारेका थिए । श्रेष्ठले यस अगाडि पनि महासंघको केन्द्रीय सदस्य र तनहुँ उद्योग वाणिज्य संघको जिम्मेवारी सम्हालेका थिए । केन्द्रीय सदस्यमा भने बराबर मतका कारण आधा –आधा कार्यकालको जिम्मेवारी सम्हालेका थिए ।यसपटक भने श्रेष्ठ भारी मतले विजयी भएका छन् ।

श्रेष्ठले केन्द्रीय सदस्यमा जित हासिल गरेसगै तनहुँका उद्योगी व्यवसायीहरुले राजधानीमा खुसीयाली मनाएका छन् । श्रेष्ठको जीतको घोषणा भए लगत्तै तनहुँका उद्योगी व्यवसायीले श्रेष्ठलाई अबिर ,माला र खाँदा पहिराई दिएका थिए । यसअघि श्रेष्ठलाई जिताउनका लागि तनहुँ उद्योग वाणिज्य संघको टोली राजधानीमा गएको थियो । यसैबीच श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएसगै उनलाई विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीहरुले बधाई दिएका छन् । श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले बधाई दिएका छन् । काग्रेसको विभाग सदस्य समेत रहेका श्रेष्ठलाई विजयी गराउन केन्द्रीय सदस्य भण्डारीले समेत आफ्नो ठाउँबाट राम्रो भूमिका निर्वाह गरेका थिए ।यसैगरी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ,वर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले समेत बधाई दिएका छन् । त्यस्तै जिल्लाका विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणहरुले समेत श्रेष्ठलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।

