गलेखामकोटको ऐतिहासिक परिचय

देवीबहादुर बस्न्यात
विषय प्रवेश
सिंजा राज्यको पतन पश्चात कर्णाली र गण्डकी क्षेत्रमा बाइसे र चौविसे राज्यहरु स्थापना भएका थिए । चौविसे राज्य भित्र तनहुँ पनि एक थियो । हालको तनहुँ जिल्ला भित्र तनहुँको साथसाथै मिरलुङकोट , रिसिङ्ग , घिरिङ्ग, गजरकोट , किहुँ , राजपुर, गलेखामकोट र ढोर राज्यहरु पनि चौविसे राज्यहरुको गणना भित्र पर्दथे । तनहुँ , रिसिङ्ग, राजपुर, मिरलुङ्गकोट, रामकोट ( रामजाकोट)र गजरकोटमा सेन राजाहरुको शासन चलेको थियो भने गलेखामकोटमा राना मगर, ढोरमा खान वंश र घिरिङमा समाल वंशीय राजाको शासन चलेको थियो । तनहुँका राजा दिग्विजय सेनको समयमा गलेखामकोट, मिरलुङ्ग, घिरिङ्ग, गजरकोट, रामकोट र ढोर राज्यहरु तनहुँ राज्य विलय गराईएको थियो । यी राज्यहरु कहिले स्वतन्त्र र कहिले पराधीन भएर पनि रहन्थे ।


गलेखामकोटको नामाकरण
तनहुँको ऐतिहासिक स्थल गलेखामकोट नाम रहनमा निम्न कारणहरु ज्यादै सान्धर्भिक देखिन्छ ।
१, नेपाल बहुभाषी र बहुधर्मालम्वीहरु बसोवास गरेको क्षेत्र हो । खसहरु बसोवास गरेको खसान , थारुहरु बसेको क्षेत्र थरुहट, तमाङ्गहरु बसेको ताम्सालिङ्ग, लिम्वुहरु बसेको लिम्बुवान किराँतीहरु बसेको किरात प्रदेश, जाडहरु बसेको जडान , तमुहरु बसेको क्षेत्रलाई तमुवान भने झैं मगरहरु बसोवास गरेको क्षेत्रलाई मगरात भनिन्छ । मगरातमा पनि बाह्र मगरात र अठार मगरात भन्ने प्रचलन छ । बाह्र मगरातमा पाल्पा तनहुँ स्याङ्गाजाको भूभाग पर्दछ भने बागलुङ्गको निशीभूजि पश्चिमको बागलुङ्ग, रोल्पा रुकुम र डोल्पा भूभाग अठार मगरातले चिनिन्छ । यसरी तनहुँ बाह्रमगरात क्षेत्र पर्दछ भन्न सक्दछौं । यसै गरी हरेक जातजातिमा विभिन्न शाखा प्रशाखा र उपशाखा भेटिन्छ । त्यसै गरी मगर जातिमा पनि भिन्न भिन्न समुहहरु भेटिन्छन् । बाह्रमगरात बस्ने मगरहरुलाई बाह्रपन्थी र अठारमगरात बस्ने मगरहरुलाई अठारपन्थी मगर भनेर चिन्हाउने गरिन्छ । बाह्रमगरातको स्याङ्गजा , कास्की तनहुँ र गोरखा, मकवानपुरमा विशेष गरेर ढुट मगरभाषा र अठार मगरातको रोल्पा रुकुम र बागलुङ्ग पश्चिम निशीभूजि भूभागमा खाम मगर भाषा र डोल्पाको ताराकोट क्षेत्रमा काइके मगरभाषा बोल्ने गर्दछन् । खाम मगर भाषामा पनि पाँचथरीका उपभाषिकाहरु पाइने गर्दछन् । जस्मा पर्वते पश्चिमे, पर्वते पूर्वेली, शेशीले ,गमाले र मताले समेत पर्दछन् । नेपाली समाज प्रायश ः पश्चिमबाट पूर्व तर्फ बसाई सरेको इतिहास पाइन्छ । नेपाली समाज प्रायश ः पश्चिमबाट पूर्व तर्फ बसाई सरेको इतिहास पाइन्छ । निशीभूजि पश्चिमका मगरहरुले गमाले खाम भाषा बोल्दछन् । बाग्लुङ्गको निशीभूजी पश्चिमका खामभाषी मगरहरु बागलुङ्ग , पर्वत कास्की हुँदै तनहुँको गलेखामकोट आइपुगेका हुन भन्न सकिन्छ । निशीभूजीबाट पश्चिम तनहुँ आएका मगरहरुले एउटाकोटको नाम भुजिकोट राखे जुन अहिले शुक्लागण्डकी नगरपालिकाको वडा नं २ मा पर्दछ । तिनै गमाले खाम—उपभाषा बोल्ने मगरहरुको अर्को एक समुह तनहुँ कास्की , ढोर र लमजुङको सांध ( सिमाना) साँधी भञ्ज्याङ्ग साँजा तर्फ प्रवेश गरे । कास्की र तनहुँको सिमानाको भञ्ज्याङ्गलाई अहिले पनि साँधी ( साँधी ) भञ्ज्याङ्ग भनिन्छ । गमाले मगरभाषी समुह बसोबास गरेको बस्ती, राजधानी तथा कोट भएकोले मगर भाषामा यसलाई गमालेखामकोट भनिएको हुनु पर्दछ । शव्दलाई मिठास पन दिन कहिले काँही शव्दको आदि अक्षर , कहिले अन्त्यको अक्षर र कहिले बीचको अक्षर लोप तथा सृजना भएर नयाँ शव्दको सृजना हुन गर्दछ । यसै गरेर कहिले शव्दमा इकार, उकार र कहिलेकाहीं बाइमात्रा सृजित भएर वा कहिलेकाँहीे लोप भएर पनि नयाँ शव्द सृजना हुने गर्दछ । यहाँ त्यस्तै भएको छ। । यहाँ गमालेखाम भाषाको गमाले शव्दको बीचको अक्षर “मा” लोप भएर गलेखाम उपभाषा बन्न गएको छ । गलेखाम र कोट शव्दको आपसमा संयोजन हुन जाँदा गलेखामकोट बनेको हुन सक्दछ ।


२ पहिला पहिला कोटहरुमा मौला गाडिने गर्दथ्यो । सो मौला अति नै ठूलो थियो । सुरुमा गल जस्तै दह्रो र खम्वा (खाँबो) जत्रै मौलो गाडिएको थियो होला । कालान्तरमा गलखम्बा शव्द अपभ्रँश भइ गलेखामकोट भएको हुनु पर्दछ ।
गलेखामकोट राज्यको सिमाना
गलेखामकोट राज्यको सिमाना पूर्वमा तनहुँ , पश्चिममा ढोर , उत्तरमा कास्की र दक्षिणमा रिसिङ्ग राज्य पर्दथ्यो । यसरी हेर्दा गलेखामकोट राज्यभित्र थप्रेककोट, गलेखामकोट, साँजा, श्याम्घा कृयापानी, शिशाघाट, बाह्रविसे साँगेपत्यानी , गुणादी मानहुँकोट, हर्कपुर, दुरुङचुङ्ग, मनपाङ्ग, छाङ, भूजिकोट, उदेनढुङ्गा र कोत्रे क्षेत्र पनि पर्दथ्यो । मिरलुङ, रिसिङ्ग, घिरिङ्ग समेतको एकिकृत तनहुँ राज्य बन्नु भन्दा पहिले तनहुँ राज्यमा ८००० घरधुरी, घिरिङ्ग राज्यमा २००० घरधुरी र गजरकोटमा १००० घरधरी भए झै. गलेखामकोट राज्य पनि ७०० घरधुरी भएको एक स्वतन्त्र चौविसे राज्य थियो । अहिले पनि यसक्षेत्रलाई सातसय गलेखामकोट भनरे चिन्हाउने गरिन्छ ।


यहाँ राना र चुमी थरका मगरहरु , बाहुन , क्षत्री , गुरुङ्ग ठकुरी, दरै कुमाल , दमै, कामी, गन्धर्व, नेवारे गुठियार खलकको बसोबास रहेको छ । गलेखामकोटका राजा प्रतिमान रानाका वंशधर बलबहादुर राना मगर र निजका अग्रजहरुले गलेखाम कोटघरको रेखदेख गरेका थिए र नेपाल सरकारले माल कार्यालय स्थापना गरी तिरो सरकारले उठाउनु भन्दा पूर्व वि.सं. २०३७ साल सम्म त्यस क्षेत्रको तिर्जा पनि उनीहरुले नै उठाएर नेपाल सरकारको माल कार्यालयमा दाखिला गर्दथे ।


गलेखामकोट कालिका पूजा व्यवस्थापन
वाइसे चौविसे कालदेखी नै गलेखामकोट वडा दशैं र चैतेदशैंमा भगवतीको पूजाआजा हुने गर्दथ्यो । गलेखामकोटको इशान भागमा भैरवीको मन्दिर र चौघेरा पर्खाल भित्र तरवार खुँडा खुकुरी र शस्त्रअस्त्रहरु भण्डार गरिएको कोटघर भित्र १२ गोटा चौकी र माझमा कालिका मन्दिर रहेकोछ छ । कालिका मन्दिर को सन्मुखमा भद्रदेवीको शीला रहेको छ । ( श्रोत—तनहुँको फूलवारी धर्मराज थापा )यहाँको पूजा व्यवस्थापनको लागि चुमी खलक बाट ३ पाथी चामल, १ माना घिउ, १ हाता केरा, हर्कपुरका राना मगरहरुले ३ पाथी चामल, १ माना तेल, महसुले खेतका मोहीहरुबाट ३ पाथी चामल र १ माना तेल, फोक्सिंङ्गका मुखियाबाट १ माना घिउ र धुरी पिच्छे १ पाथी चामल, पिपले खेतका मोहीबाट ४ गोटा घैंटा १ गोटा हाँडी, ४ गोटा कपन १ , सेराका मोहीले ४ गोटा घैंटा, १ गोटा धूपौरो , ४ कपन , ४ चिलिम, १ गोटा हाँडी , दुरुङचुङ्गे मुखियाले १ पाथि चारमाना चामल भेटि लैजान पर्दथ्यो । यसैगरी सांगे पत्यानीका दरै कुमालहरुले भार सगुन, लैजाने , नेवार र गुरुङ्गहरुले राँगा बोका, हाँस, कुखुरा बलिको व्यवस्थापन गर्ने गर्दथे । दमैहरुले नगरा बजाउने र राँगो, च्वाँचे (सुंगुर), बोका बलि चढाउनु पर्दथ्यो भने यहाँका कामीहरुले खड्ग खुकुरीमा साँध लगाउने, पाइन चढाउने र बोका बली दिनु पर्दथ्यो ।
विशेष पूजा
तनहु र कास्की नदीको सिमाना भएर बग्ने खाल्टे खोलाबाट ढुङ्गाहरु ल्याएर गलेखामकोटी भैरवी मन्दिरको पर्खाल एक रातमा लगाइएको हो भनिन्छ । उक्त पर्खाल लगाउनको लागि ७०० गलेखामवासीहरुबाट सहयोग ( झारा ) प्राप्त भएको किंबदन्ती सुन्नमा पाइन्छ । गलेखामकोटमा नयाँवर्ष फिरेपछि कृषकहरुको सहकालको लागि होमहोमादि गरिन्छ । दैवी प्रकोप नहोस , अतिवर्षा र खण्डित वर्षा भएर सातसय गलेखामकोटका वासिन्दाहरुले अनिकाल र दmुख व्यहोर्न नपरोस भनेर गलेखामकोटको भैरवी र कालिका मन्दिरमा पूजाअर्चना गर्ने गर्दछन् । गलेखामकोटमा पूजाअर्चना गरी देवता आह्वान गरेको दिन अनिवार्य जल वर्षा हुने गर्दछ । यो जलवृष्टिलाई भगवानको शक्ति मान्ने गरिन्छ ।
अन्त्यमा
धैलागिरी , अन्नपूर्ण, माछापुच्छ्रे , लमजुङ्रग र बौद्ध हिमश्रृङ्गखला , तनहुँको सर्वाधिक अगे छिम्केश्वरी , मिरलुङ्गकोट, तुलर्रङ्ग कट, चोक, जिताकोट, गोरखा, भूजिकोटी वरचुली देवचूली मानुङ्ग र रिसिङ्ग घिरिङ्ग लगायतका महाभारत पर्वत श्रृङ्खला , मादी सेती , कलेस्ती, रिस्ती , बुल्दी छाव्दी खोलाहरुले बनाएको फाँट तथा टारहरु, कास्कीका पेवाताल, वगनास रुपाताल, मैदी र खास्टे तालहरु दमौली कलेस्ती शिशाघाट, पोल्याङ्ग, बाह्रविसे बजार, थप्रेक , खैरेनीटार र पोखरा महानगरपालिका , मनपाङग र छाङ्ग जस्ता बजार क्षेत्रहरुको अबलोकन गर्न सकिन्छ । गलेखामको पूर्वी सिमाना भएर बग्ने मादी नदी तथा यस्को सहायक नदीहरुमा कृत्रिम ताल बनाएर साहसिक डुङ्गा सफारी र साहसिक लिङ्गे पिङ्ग खेलको आयोजना गर्न सकिन्छ । यसैगरी द्वापर युगका पाण्डवहरु गुरु धौम्य ऋषिको तपोभूमि साँगेको धुवान ढुङ्गा , पाँचधारा, द्वैतवन (जुम्ल्याहा वन —चुंदेर र क्यामिन)) कोे वनको अवलोकन गर्न सकिन्छ । पर्यटनका प्रचुर सम्भावना भएर पनि गलेखामकोट टुहुरो बनेको छ । गलेखामकोटमा प्राकृतिक ऐतिहासिक र धार्मिक दृष्टिकोणले परिपूर्ण भएता पनि यहाँका पर्यटन व्यवशाय मौलाउन यहाँ सम्म पुग् सकिने यातायात सुविधा, पहाडी आरोहणका लागि पदमार्ग,आवास र खानाका लागि होटल तथा घरवास सुविधा र पर्यटकका रुचि अनुसारका अतिरिक्त सुविधाको व्यवस्था पनि जरुरी छ । यस्का लागि व्यास नगरपालिकाले गुरुयोजना बनाएर व्यासनगरले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास लिएको छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s