दमौली २६ असोज ।
आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा दुर्घटनामा भई मरस्याङ्दी नदीमा खसेको ट्रक ३९ दिन पछि सोमबार भेटिएको छ ।

दुर्घटना पछि ट्रकमा सवार चालक र सह–चालक नदीमा हराएको र पानीको वहाव धेरै भएकोले ट्रक पनि फेला पार्न सकिएको थिएन । ट्रक भदौ १७ गते पृग्थ्वीराजमार्गमा पर्ने ऐना पहराबाट नदीमा खसेको थियो । दुर्घटना स्थल नजिकै भेटिएको सवारी साधन उक्त ट्रक भएको अनुमान प्रहरीको छ । ट्रकको पाङ्गा र केही भाग नदीमा देखिएको छ तर पानीको बहाव धेरै भएकोले दुर्घटनामा परेको ट्रक होकी हैन भन्ने एकिन हुन सकेको छैन ।’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए । ‘पानीको बहाव घटे पछि एकिन हुन्छ त्यही ट्रक हो कि भन्ने अनुमान गरिएको छ ।’ एसपी पौडेलले भने ।
केही दिन अगाडि दुर्घटना स्थल नजिकै र चितवनमा दुई शव भेटिएकोले सोही ट्रकमा सवार भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । ‘एक शव पाँच दिन अगाडि र एक शव १५ दिन अगाडि भेटिएको छ महिला र पुरुष समेत छुट्टाउन सक्ने अवस्थाको नभएकोले सनाखत हुन सकेको छैन ।’ प्रहरी निरीक्षक थापाले भने । दुर्घटना पछि दुई जना हराएको भनि प्रहरीमा खबर आएको ति शवको पहिचानको लागि डिएन परिक्षण गर्नु पर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।