राष्ट्रकवि माधवप्रसाद घिमिरे र विभिन्न कोणबाट उनको कवित्वको विश्लेषण

प्रा डा ईश्वरचन्द्र वाग्ले


१. जन्म र शिक्षादीक्षा ः
राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली कविताको आधुनिक कालका स्वच्छन्दतावादी धारा अन्तर्गत देखापरेका सशक्त कवि हुन् । लमजुङ जिल्लाको पुस्तुन गाउँमा वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरेका पिता गौरीशङ्कर घिमिरे र माता द्रौपदीदेवी घिमिरे हुन् । जन्मिएको ३ वर्षमै आफ्नो माता बितिन् । ६ वर्षको उमेरमा उनले अक्षर चिनेका थिए भने ८÷९ वर्षको उमेर हुँदा आफ्नै गाउँको फुलेबाबासँग ‘पञ्चाङ्ग’ अध्ययन गरे । त्यसपछि ११ वर्षको उमेरमै घर छाडेर लमजुङ दुराडाँडा गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा प्रथमा उत्तीर्ण गरेका थिए । त्यसपछिको अध्ययनका लागि उनी बनारस गए । उनले भारतको बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री परीक्षा उत्तीर्ण गरेका हुन् ।


२. कृतित्व र सम्मान ः
वि.सं. १९९२ सालमा १४ वर्षको उमेरमा ‘गोरखापत्र’ मा ‘ज्ञानपुष्प’ शीर्षकको पहिलो रचना छपाएर राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य सिर्जनामा प्रवेश गरेका हुन् । त्यसपछि उनका अन्य कृतिहरूमा कविता सङ्ग्रहतर्फ ‘नवमञ्जरी’ (१९९४), ‘घामपानी’ (२०१०), ‘नयाँ नेपाल’ (२०१३), ‘बाललहरी’ (२०२९) र ‘किन्नरकिन्नरी’ (२०३३) प्रकाशित भए । खण्डकाव्यतर्फ ‘पापिनी आमा’ (२०१३), ‘गौरी’ (२०१५), ‘राजराजेश्वरी’ (२०१७), ‘राष्ट्रनिर्माता’ (२०२३), ‘धर्तीमाता’ (२०३०), ‘राहुल यशोधरा’ (२०३५), प्रकाशित छन भने नाटकतर्फ ‘शाकुन्तल’ नाटक (२०३२), ‘मालती मङ्गले’ गीतिनाटक (२०३५), ‘विषकन्या’ (२०२०), ‘देउकी’ (२०५०), ‘अश्वस्थामा’ (२०५३), ‘हिमालपारि हिमालवारि’ (२०५४), आदि प्रकाशित भएका छन । यसरी बाल्यवस्था देखि नै निरन्तर रूपमा कलम चलाउँदै आएका घिमिरे बहुमुखी प्रतिभा हुन् । घिमिरे प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृति र प्रेमसँग तादात्म्य बनाउदै आफ्नो कवित्व सिर्जनालाई दीर्घ साधनाका रूपमा अगाडि बढाएका देखिन्छन् ।


राष्ट्रकवि घिमिरेलाई वि.सं. २०५३ सालमा सार्वजनिक अभिनन्दन गरिएको थियो । उनले वि.सं. २०३३ सालमा ‘त्रिभुवन पुरस्कार’, २०५० सालमा ‘सीताराम पुरस्कार’, २०५२ सालमा ‘आदिकवि भानुभक्त पुरस्कार’, २०५५ र २०५८ सालमा ‘साझा पुरस्कार’, २०६० सालमा नेपाल सरकारबाट राष्ट्रकविको उपाधि प्रदान गरिएको थियो । त्यसैगरी उनलाई २०६७ सालमा ‘पद्मश्री साधना पुरस्कार’ र २०७५ सालमा ‘महाउज्ज्वल पदक’ बाट सम्मानित गरिएको थियो ।


३. काव्यगत प्रवृत्ति ः
राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रिय भावनालाई काव्यकृतिमा सशक्त रूपमा व्यक्त गर्ने पूर्वीय रोमान्टिक काव्यधाराका नेपाली संस्करण हुन् । यिनी भावका दृष्टिले महाकवि देवकोटा, शिल्प र शैलीका दृष्टिले लेखनाथका नजिक देखिन्छन् । भाव र शिल्पको समन्वय, आत्मपरक प्रकृति चित्रण, राष्ट्रियता, देशप्रेम, वैचारिकता, गीतिलय, प्रेम र जीवनको समन्वय, जीवनवादी दृष्टिकोण, मानवतावादी दृष्टि, थोरैमा धेरै दिन सक्ने मितव्ययी कवि, रचनामा सरलता र शिल्पमा गहिरो दार्शनिक प्रभाव, एउटै सरल कतिमा पूर्ण आकार दिन सिपालु कवि हुन् । उनी भन्छन्,
“मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ ।
यौटै सानो सरल कृतिमा पूर्ण संसादर देऊ ।।”
जातीय स्वाभिमान र सांस्कृतिक गौरव एवं विश्वबन्धुत्वको भावना, छन्द कवितामा सर्वश्रेष्ठ कुशल कालिगढ आदि घिमिरेका काव्यगत प्रवृत्ति हुन् । यसरी नेपाली कवितामा राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारालाई क्लासिकल परिष्कारका साथ प्रवाहित तुल्याउने मूलतः राष्ट्रिय स्वरका कवि हुन् ।


४. प्रेमलाई नै जीवनको उपलब्धि मान्ने कवि ः
राष्ट्रकवि घिमिरे प्रेमलाई नै जीवनको मुख्य उपलब्धि स्वीकार गर्छन् । उनी भन्छन्, “बिहा भएर श्रीमती लिएर आएको सबभन्दा रमाइलो क्षण किनभने, एउटा नयाँ मान्छे आफ्नो भनेर आएको छ । फेरि बिताउनु पनि उसैसँग छ जीवन । अचम्मको कुरा छैन त ?” त्यो प्रेम चाहिँ कस्तो भनेः स्वाभाविक प्राकृतिक । हेर्दै पनि आङ जुरूङ हुने, रोमाञ्च हुने । उसको बोली मीठो … उसले हेरेको …. जम्मै के हो, त्यो बर्सेर आएको त्यही हो । मान्छेले मान्छेलाई प्रेम गरेको, त्यसको बोली, आँखा, सबै चीजले समर्पित भएको, विश्वास भएको, दुईटा आत्मा एउटै भएको भयो भने त्यो जतिको ठूलो केही पनि छैन ।” सद्विचार, सिर्जना र प्रेमको संसारमा रमाइरहेका घिमिरे एक शताब्दीभन्दा लामो जीवन व्यतीत गरेर विदा भए ।

उनकै शब्दमा भन्दा,
“यो जिन्दगी जति बुझे पनि बुझ्नै बाँकी
नौलो कुरा जतिसुझे पनि सुझ्न बाँकी ।”
५. शोक र सिर्जनाका कवि ः
राष्ट्रकवि घिमिरेले आफ्नो पहिलो पत्नीको वियोगमा लेखेको ‘गौरी’ शोककाव्य सर्वाधिक लोकप्रिय काव्य कृति हो । पत्नी शोक र उक्त कृति ‘गौरी’ का सन्दर्भमा उनले भनेका छन्, “उनको २०–२२ वर्षको उमेर । मेरो २७–२८ वर्षको उमेर । भर्खर जन्मेका दुईटी छोरी । एउटा डेरा लिएर बसेको । रातको समयमा १८ दिनसम्म बिरामी भएको । त्यो जाँदाखेरि चाहिँ संसारै डुबेको जस्तो लागेको । मैले चिताउँदै नचिताएको । अविस्मरणीय क्षण त्यही थियो ।” तर त्यो क्षणले कवि घिमिरेलाई विव्हल मात्रै तुल्याएन, जीवनको सबभन्दा ठूलो पाठ पनि सिकाएर गयो । उनी भन्छन्, “उनको निधनपछि मलाई के लाग्यो भने, जीवन जतिको मूल्यवान त केही रहेनछ । यो उज्यालो देख्न पाइया छ । यो रङ्ग, यो खुला आकाश ।”


राष्ट्रकवि घिमिरे पत्नी गौरीको वियोगमा भाव विव्हल हुँदै भन्छन्,
“मैले सोधिन, अन्त्यकाल कुनमा धोको अडेको थियो ।
मैले रोइन, प्राण जान कतिको बाधा परेको थियो।
हेरें टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ ।
हेरी आखिर घाटमा रसिला आँखा ममा चिम्लियौ।”
६. राष्ट्रभक्तिको भावना भएका कवि ः


नेपाली साहित्यका राष्ट्रकवि माधव घिमिरे राष्ट्रियता सम्बन्धी आफ्नो दृष्टिकोण सशक्त रूपमा प्रस्तुत गर्छन्, आफ्ना कवितामा । उनी नेपाललाई बिर्सनु नै आफूलाई बिर्सनु हो भन्छन् । नेपाल नरहे हामी नेपाली पनि नेपाली भनेर रहन्नौ । हामीले विश्व सामु नेपाली वीर भएर आफ्नो शिर उच्च राख्नु पाएका छौं । यदि नेपाल नरहे हाम्रो यो शान पनि रहँदैन । उनी भन्छन्,
“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
उचाइ हाम्रो चुलिन्छ कहाँ नेपालै नरहे ।।”
नेपाल रहेसम्म हामी नेपाली रहन्छौं । हामी नेपाली भएर बाँच्न, हाम्रा वीर पुर्खाहरूले आर्जेको नेपाल चाहिन्छ । सम्पूर्ण नेपाली चनाखो भएर नेपालको अस्तित्व जोगाई राख्नुपर्छ भन्ने भावना उक्त कवितांशमा कवि घिमिरे व्यक्त गर्छन् ।


वि.सं. २०२८ साल अघि र केही ठाउँमा पछिसम्म पनि राष्ट्रिय गानका रूपमा गाउँदै आएको,
“गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली ।
जय, जय, जय नेपाल, सुन्दर, शान्त, विशाल ।।”
नामक राष्ट्रगानमा उनी भन्छन्, “ज्योतिको पंख भनेको प्रकाशको पखेटा हो । यस चन्द्र–सूर्य अङ्कित झण्डालाई सङ्केत गरेको हो ।” उनका झण्डा उचालेर नेपालीहरू गाउँछन् । यसरी कवितामा पूर्णतः देशभक्तिको भावना देखिन्छ । नेपालको सिमानाका बारेमा कवि भन्छन्,
“पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौँ ।
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?
त्यसैगरी राष्ट्रकवि घिमिरे भन्छन्,
“लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो ।
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो ।।


यसरी आफ्नै गाउँ–घर, पाखा–पखेरा र हिमाल–पहाड, नदी–नालाहरूमा रमाएर हिँडेका, हुर्केका राष्ट्रकवि घिमिरेको हृदयबाट आफ्ना गीत कविताहरूमा साँच्चिकै राष्ट्रभक्ति तथा देशभक्ति र प्रकृति प्रेमको अजश्र प्रवाह नै बगेको अनुभूति हुन्छ ।
७. जीवनवादी दृष्टिकोणका कवि ः
राष्ट्रकवि घिमिरे जीवन सुख दुःखको सङ्गम हो । हर्ष–विस्मात, आशा–निराशा, सफलता–असफलता जीवनका विशेषता हुन् । एक नेपालीको दुःख–दुःखलाई अर्को नोपलीले आफ्नै दुःख–सुख ठानी त्यसलाई आत्मसात गर्नुपर्छ । सम्झनाका तरेलीमा सुख–दुःखलाई सँगालेर सद्भाव र प्रेमको खेती गरेर जीवन बाँच्नुपर्छ । मानवतावादी भावना र विचारले ओतप्रोत भएर जीवनलाई गतिशील तुल्याउनाले आत्मसन्तुष्टि प्राप्त हुन्छ । हामीमा विशाल हृदय हुनुपर्छ, विश्वबन्धुत्वको भावना हुनुपर्छ । यस सन्दर्भमा कवि घिमिरे भन्छन्,
“नेपालीका सुखदुःख सबै सम्झनामा सँगालौं ।
खोली बाहा विपुल दिलले विश्व सारा अँगालौं ।”


यसरी कवितामा मित्रता र सहिष्णुताको भावना विकास गरी सम्पूर्ण मानिसका सुख–दुःखमा साथ दिन सक्नु जीवनको साध्ये हो भन्ने भावना व्यक्त गरेका छन् । यो दुई दिनको जिन्दगी हाँसीखेली बिताउनु पर्छ भन्दै कवि घिमिरे भन्छन्,
“हाँसी–खेली दुई दिन कहाँ जान्छ यो जिन्दगानी।
को लैजाला अमरपुरमा फूलको यो जवानी ।।”
८. उपसंहार ः


राष्ट्रकवि घिमिरे धिमागतिमा लेख्ने तर कालजयी रचना सिर्जना गर्ने प्रवृत्तिका कारण उनले नेपाली काव्य जगत्लाई अविस्मरणीय गुन लगाएका छन् । उनको काव्य लेखनको महत्त्वपूर्ण क्षेत्र भनेको राष्ट्र र राष्ट्रियताप्रतिको चिन्तन हो । नेपाल राष्ट्र नेपाली संस्कृति, नेपाली जाति, नेपालीपन, नेपाली प्रकृतिको गौरव र राष्ट्रिय अखण्डतालाई सर्वोपरि महत्त्व दिने स्रष्टा घिमिरेको काव्य सिर्जना नेपाली जनमानसमा अटल रहनेछ । नेपाली प्रकृति, संस्कृति, इतिहास, आदर्श, सभ्यता र जातीयताकै गुणगान गाएर मानवीय जीवनमूल्य नेपाल राष्ट्र र समाजलाई सुम्पने कार्यको अन्त्य घिमिरेको निधनसँगै नेपाली कविता काव्यको शीर्षस्थ युगको अन्त्य भएको पाइन्छ । वि.सं. २०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तथा २०२२ मा कविशिरोमणि लेखनाथ पौड्यालको निधनपश्चात् नेपाली काव्यजगत्को राष्ट्रकवि घिमिरेले कुशलतापूर्वक नेतृत्व गरिरहेका थिए तर आज आएर उनको निधनले नेपाली काव्यजगत् शून्यको अवस्थामा पुगेको अनुभूति गर्न सकिन्छ । अन्त्यमा राष्ट्रकवि घिमिरेप्रति हार्दिक श्रद्धा सुमन ।


सन्दर्भग्रन्थ सूची
– आचार्य, भागवत (२०६३), कविता सिद्धान्त र नेपाली कविता एवम् निबन्ध, काठमाडौँः नवीन प्रकाशन ।
– उपाध्याय, केशवप्रसाद (२०५६), तीन कविका तीन काव्य, ललितपुरः साझा प्रकाशन ।
– नेपाल, शैलेन्दुप्रकाश (२०७७), राष्ट्रकवि घिमिरे र नेपाली कविता, अन्नपूर्ण पोष्ट ।
– पोखरेल, भानुभक्त (२०६९), माधव घिमिरेका विशिष्ट खण्डकाव्य, विराटनगरः श्याम पुस्तक भण्डार ।
वाग्ले, ईश्वरचन्द्र र अन्य (२०६६), – नेपाली काव्य, नाटक र इतिहास, काठमाडौँः पुस्तक घर ।
– वाग्ले, ईश्वरचन्द्र र अन्य (२०६८), अनिवार्य नेपाली, काठमाडौँः पुस्तक घर ।
–शुभेच्छुक, रमेश (२०७७), सम्झनामा साहित्यका युग पुरूष माधव घिमिरे, अन्नपूर्ण पोष्ट ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s