कोरोनाका कारण बन्द हुन पुगेका तनहुँका शिक्षण संस्थामा पठनपाठन सुचारु

दमौली ,१६ असोज ।
कोरोनाका कारण लामो समय बन्द हुन पुगेका तनहुँका शिक्षण संस्थामा पठनपाठन कार्य सुचारु हुन थालेको छ ।
नेपाल सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिका अनुसार विभिन्न विकल्पको प्रयोग गरी पठनपाठन कार्यलाई शिक्षण संस्थाले सुचारु गर्न थालेका हुन । अधिकांश विद्यालयमा भौतिक रुपमै शिक्षक र विद्यार्थी विद्यालयमा जुटाएर पठनपाठन गरिन थालिएको छ ।
ग्रामिण क्षेत्रमा अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या पनि कम भएकोले शिक्षक तथा विद्यार्थी विद्यालयमा नै जुटाएर शैक्षिक कार्य अघि बढाईएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत भरत बरालले जानकारी दिए । भानु नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण भएकाले हालसम्म विद्यालय खुलाउने निर्णय नभएको इकाईले जनाएको छ ।


शुक्लागण्डकीको पञ्चमुनीदेव र तालवेशी माध्यमिक विद्यालयले र टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । त्यस्तै म्याग्दे गाउँपालिकाको पसले आधारभूत विद्यालयले पनि टोलमै पुगेर विद्यार्थी पढाउन थालिएको सम्बन्धित विद्यालयले जानकारी दिएका छन् ।
व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन शुरु गरेको छ । प्रविधिको पहुँचमा भएका विद्यार्थीलाई अनलाइन माध्यमबाट सिकाई सहजीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । ‘प्रविधिको पहुँचमा नभएका विद्यार्थीहरुका लागि पनि टोल टोल कक्षा सञ्चालन गर्ने तयारीमा थियौं, नगरपालिकाले कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेपछि सहज भएको छ,’ प्रअ बस्नेतले भने ‘बिहान १० देखि १ बजेसम्म कक्षा १ देखि ६ सम्म र दिउसो १ः३० बजेदेखि ४ बजेसम्म कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको लागि कक्षा सञ्चालन गरिएको छ ।’


६ वर्ष मुनिका बालबालिकालाई सिकाई सहजीकरणमा समावेश नगराउने, ५० जना सम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दुरी १ मिटर कायम गरी एक बेच्चमा दुई जनाको बसाई व्यवस्थापन गर्ने ५० देखि १ सय जना विद्यार्थी भएकोमा सिफ्ट सिफ्टमा सञ्चालन गर्ने, १ सय देखि २ सय भन्दा बढी भएका दिन विराएर भएपनि सिफ्ट प्रणालीमा आलोपालो सञ्चालन गर्ने स्कुल बसले सिट क्षमताको ५० प्रतिशत राखेर ओसार पोसार गर्ने जस्ता मापदण्ड बनाई पठनपाठन सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।


अनलाइन भन्दा सुरक्षाको मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्दा उपयुक्त लागेको दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा–१० की छात्रा एलिना आलेले बताईन् । सो विद्यालयका गणित शिक्षक मोहन बस्ताकोटीले गणित विषयमा अधिकांश विद्यार्थी कमजोर हुने भएकोले अनलाईन भन्दा प्रत्यक्ष रुपमा पठनपाठन गर्दा बुझाउन सहज भएको बताए । विद्यालयका प्रधानाध्यापक कृष्णहरी गैह्रेले विद्यालयमा अधिकांश विद्यार्थीका अभिभावक न्यून आर्थिक अवस्थाका रहेकाले अनलाइन प्रविधिबाट टाढा रहेकोले विद्यालयमा नै भौतिक रुपमा जुटाएर सुचारु गरिएको बताए ।


स्वास्थ्य मापदण्ड अपनाएर आदिकविमा कक्षा सञ्चालन गरिने


स्वास्थ्य मापदण्ड अपनाएर आदिकवि भानुभक्त क्याम्पसमा कक्षा सञ्चालन गरिने भएको छ ।
आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए अनुसार स्नातक तह तेस्रो बर्षको विएड र विविएसका कक्षा बिहानी सत्रमा र कक्षा ११ नयाँ र कक्षा पुरानाको दिवा सत्रमा सञ्चालन गरिने भएको छ । क्याम्पस प्रमुख हड्खलेका असोज १८ गते देखि कक्षा सञ्चालन हुने भएको छ ।
सञ्चालनमा रहेका अन्य तहका अनलाइन कक्षा भने यथावत चालु रहेको क्याम्पसले जनाएको छ । यस अघि आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको बुधबार बसेको बैठकले सम्बन्धित निकाय संग समन्वय गरेर स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s