
दमौली ,७ असोज ।
बन्दिपुर—६ साराघाङघाटमा अवैध रुपमा सञ्चालति क्रसर उद्योगलाई तत्काल कारवाही गर्नुपर्ने माग गर्दै राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाएका छन् ।
राजनीतिक दलहरुले गाउँपालिका अध्यक्ष पूर्ण सिं थापालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउने राजनीतिक दलहरुमा नेपाली काग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी, नेपाल कम्युनिष्ट पार्र्टी माओवादी (क्रान्तिकारी)लगायत रहेका छन् । ज्ञापन पत्रमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगको सामाग्री नियन्त्रणमा लिई लिलाम बिक्रि गर्नुपर्ने माग समेत गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा कोरोनाको उपचार तथा नियन्त्रणमा गाउँपालिकाले गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा दलहरुले बन्दिपुर देखि मुचुक्क सम्म खनिएका दुईवटा सडक बाटोको विषयमा समेत प्रश्न चिन्ह उठाएका छन् ।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति एकलौटी ढंगले गठन गरिएको, प्यूघर कौसेनी छाप मोटर मार्ग निर्माण गर्दा जथाभावी सालका रुख काटिएको, योजनाहरुको निर्माण कार्यमा चरम लापरवाही भएको लगायतका विषयहरुमा गम्भीर आपत्ति जनाईएको छ। ज्ञापन पत्र बुझाउनेहरुमा नेपाली काग्रेसका तर्फबाट गाउँ कार्य समिति सभापति कर्ण खत्री, जसपाको तर्फबाट ताराबाबु भट्राई, राप्रपाको तर्फबाट गोवर्धन भट्राई, र नेकपा माओवादी (क्रान्तिकारी) को तर्फबाट सुन्दरलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्तिको तर्फबाट क्या. डिलबहादुर थापा रहेका थिए ।