प्रजातन्त्रका पिता स्व. गणेशमान सिंह र उनको राजनीतिक जीवनी यात्रा

प्रा.डा. ईश्वरचन्द्र वाग्ले

१) विषय प्रवेशः
प्रजातन्त्रका पिता स्व. गणेशमान सिंह नेपाली राजनीतिक शीर्ष पुरुष हुन् । नेपालको राजनीतिक क्षेत्रमा उनको योगदान स्वर्ण अक्षरले अङ्कित रहेको छ । नेपालको राजनैतिक क्रान्तिको इतिहासमा स्व. गणेशमान सिंहको नामका अगाडि कुनै परिचयजन्य विशेषण जोडिरहनु पर्ने आवश्यकता छैन, नाम मात्र पर्याप्त छ, उनलाई चिन्न र जान्न । जसले आफ्नो जीवन कालमा केही न केही कार्य गर्छ र सफलता प्राप्त गर्छ भने उसको जीवनी, व्यक्तित्व र कृतित्व सार्वभौम चासोको विषय रहन्छ । त्यस्ता युग पुरुषहरु आम जनमानसका मानसपटलमा एवं हृदयमा सर्वदा शाश्वत सत्य झैं अविस्मरणीय रुपमा रहिरहन्छन् । यसै अवसरमा प्रजातन्त्रका पिता वरिष्ठ राजनीतिज्ञ, लौह पुरुष, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर वीर योद्धा स्व. गणेशमान सिंहको जीवनी, व्यक्तित्व र कृतित्व तथा राजनैतिक जीवनका आरोह अवरोहका सङ्क्षिप्त चर्चा यस लेखमा गर्ने प्रयास गरिएको छ । साथै उनीप्रति विभिन्न महान् व्यक्तित्वहरूले हेर्ने गरेको दृष्टिकोणलाई समेत स्थान दिइएको छ ।

२) गणेशमान सिंहको बाल्यकाल र शिक्षा दीक्षा ः
नेपाली राजनीतिको शिखर पुरुष स्व. गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा भएको हो । सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र गणेशमान सिंहलाई सानैमा इष्टमित्र, घरपरिवार, साथीभाइ सबैले ‘हीराकाजी’ भनेर बोलाउने गर्थे । आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले उनको पालनपोषण जेठा बाजे सरदार रत्नमानबाट भएको हो । राणाकालमा सरदार रत्नमानको पदोन्नति बडाकाजीसम्म भएको पाइन्छ । रत्नमान राणाकालको ठूलै भारदार भएकाले गणेशमान सिंहको बाल्यकाल निकै सुखद् अवस्थामा बितेको थियो । उनी कक्षा ५ मा दरबार हाइस्कुलमा भर्ना हुँदा सम्म ‘हीराकाजी’ कै नामले परिचित थिए । पछि कक्षा ६ मा दरबार हाइस्कुलमा पढ्दा राणाका छोराछोरीलाई आदर सम्मान नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित भए । त्यसपछि उनी बहिदारको पदमा जागिर खानका लागि सरकारी सेवामा प्रवेश गरे । उनले एक दिन राणाहरुको दरबार अगाडि साइकल दौडाएका कारण सजाय भोग्नु परेको थियो । त्यस घटनाबाट आहत भएका गणेशमानले उक्त जागिर छोडेर कलकत्तातिर लागे । किनभने उनी आफ्नो स्वाभिमान गिराउन चाहँदैनथे । कलकत्ता पुगेपछि उनले त्यहीँ पढे र सन् १९३९ मा प्रथम श्रेणीमा म्याट्रिक पास गरे । त्यसपछि उनले त्यहीँ कै विद्यासागर कलेजमा विज्ञान विषयमा आइ.एस्सीको अध्ययन सुरु गरे । स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तिन छोरी डा. मीना सिंह, कान्ता मानान्धर र रीति वैद्य हुन् । पीएल सिंह उनकोधर्म पुत्र हुन् । मङ्गलादेवी सिंह स्व. सिंहकी धर्मपत्नी हुन् ।

३) गणेशमान सिंहको राजनीतिक जीवन यात्रा ः
सानै उमेरदेखि राजनीतिमा रुचि राख्ने गणेशमान सिंह अध्ययन गरिरहेकै बेला कलकत्ताबाट नेपाल आएर वि.सं. १९९७ सालमा ‘राष्ट्रिय प्रजापरिषद’ को सदस्यता लिएका थिए । खासगरी उनको राजनीतिक जीवन यात्रा यहाँबाट सुरु भएको थियो । यही समयमा वि.सं. १९९७ साल असारमा मङ्गलादेवी सिंहसँग विवाह भएको हो । त्यसपछि तत्कालीन निरङ्कुश जहानिया राणा सरकारले उनलाई वि.सं. १९९७ कार्तिक महिनामा गिरफ्तार ग¥यो र सर्वस्वहरण सहित आजीवन काराबासको दण्ड सुनायो । उनीसँग जेल परेका शहीदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको थियो । गणेशमान सुर, वीर, पराक्रमी, निडर र जन्मजात विद्रोही थिए । जसलाई राणा शासनको क्रुर प्रशासनले धेरै दिन कैद गर्न सकेन । वि.सं. २००१ साल वैशाख महिनाको एक रात भद्रगोल जेलको पर्खाल नाघेर उनी त्यहाँबाट भागेर भारतको दार्जीलिङ हुँदै कलकत्ता पुगे । त्यहाँ उनको वी.पी. कोइरालासँग सम्पर्क भयो । वी.पी.सँग मिलेर उनले वि.सं. २००३ साल माघ १२ गते ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ को स्थापना गरे । पछि २००६ सालमा यो पार्टी सुवर्ण शमशेरको ‘प्रजातान्त्रिक काङ्ग्रेस’ सँग मिलेर ‘नेपाली काङ्ग्रेस’ (वि.सं. २००६) स्थापना भयो । त्यसपछि उनी ‘नेपाली काङ्ग्रेस’ को संस्थापक नेता बनेका हुन् ।


तत्कालीन जहानिया निरङ्कुश राणा शासनका विरुद्ध वि.सं. २००७ साल असोज ९, १० र ११ गते भारतको वैरगनियामा तिनदिने सम्मेलन जसलाई ‘बैरगनिया सम्मेलन’ भनिन्छ । त्यहाँ गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई.सिंह, मातृका प्रसाद कोइराला, वी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि भेला भई सबैले जहानिया राणाशासन फाल्न ‘डु अर डाइ’ (गर या मर) अर्थात् ‘कि राणाशासन खत्तम गर्ने कि हामी खत्तम हुने’ नीतिको घोषणा गरेका थिए । पछि उनी २००७ सालको राणा शासन विरुद्धको क्रान्तिका सिलसिलामा भूमिगत भई नेपाल आउँदा वि.सं. २००७ साल असोज २७ गते ठोरीको जङ्गलमा पक्राउ परे । उनलाई त्यस क्रममा निकै शारीरिक यातना दिइएको थियो । जब २००७ सालको क्रान्ति सफल भयो र प्रजातन्त्रको स्थापना भयो, त्यसपछि उनी जेलबाट रिहा भए र तत्कालीन मोहन शमशेरको नेतृत्वमा गठित मन्त्रिपरिषदमा उद्योग तथा वाणिज्य मन्त्री भए । पछि २००८ सालमा मातृका प्रसाद कोइरालाको मन्त्रिमण्डलमा उनी कृषि, भूमि तथा खाद्यमन्त्री त भए तर वी.पी.को निर्देशनमा उनले उक्त मन्त्री पद त्यागे र वि.सं. २०१२ सालमा नेपाली काङ्ग्रेसको वीरगन्ज महाधिवेशनमा सुवर्ण शमशेरसँग समापतिमा प्रतिस्पर्धा गरे र पराजित भए । तर पनि उनले हिम्मत हारेनन् र वि.सं. २०१४ सालको ‘भद्र अवज्ञा’ आन्दोलनको नेतृत्व गरेका थिए । गणेशमान सिंह वि.सं. २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट काठमाडौंबाट विजयी भएर वी.पी. कोइरालाको नेतृत्वमा गठित मन्त्रिमण्डलमा निर्माण तथा यातायात मन्त्री भए ।


वी.पी. कोइरालाको मन्त्रिमण्डललाई बरखास्त गरेर राजा महेन्द्रले देशमा वि.सं. २०१७ साल पुष १ गते निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाको स्थापना गरे त्यस घटनापछि गणेशमान सिंह ८ वर्षसम्म सुन्दरी जेलमा थुनिए । जेलमुक्त भएपछि उनी निरङ्कुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सहभागी हुन भारत प्रवासमा गए । त्यसपछि समय क्रममा २०३३ सालमा वी.पी. कोइरालासँग राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका गणेशमानलाई विमानस्थलबाटै वी.पी. सँगै गिरफ्तार गरियो । उनीमाथि निरङ्कुश पञ्चायती व्यवस्थानका मतियारहरूले राजकाजको मुद्दा चलाई मृत्युदण्डको समेत माग गरेका थिए । यस क्रममा देशमा आन्दोलनको माहोल बन्दै गयो । २०३६ सालमा विद्यार्थीहरूबाट सुरु भएको आन्दोलनले तीब्र रुप लियो र निरङ्कुश पञ्चायती व्यवस्थाले घुँडा टेक्ने अवस्था आयो । त्यतिबेला राजा वीरेन्द्रले ‘जनमत सङ्ग्रह’ को घोषणा गरे । वि.सं.२०३७ सालमा ‘जनमत सङ्ग्रह’ मा निःशर्त सहभागी हुनुपर्छ भन्ने कुरामा वी.पी.सँग उनको मतभेद पनि भएको पाइन्छ । वि.सं. २०३९ सालमा वी.पी. कोइरालाको निधन भएपछि उनी नेपाली काङ्ग्रेसको सर्वोच्च नेता भए । वि.सं. २०४२ सालमा नेपाली काङ्ग्रेसको आव्हानमा भएको सत्याग्रहमा उनले नेतृत्व गरे ।


वि.सं. २०४६ साल माघ ५,६ र ७ गते काठमाडौंको क्षेत्रपाटीमा सिंहकै निवासमा आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरियो । वि.सं. २०४६ साल फागुन ७ गतेबाट सुरु भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व समालेका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई ६ वटा बामपन्थी दलहरुको गठबन्धन ‘संयुक्त बाममोर्चा’ ले समेत साथ दिएको थियो । त्यसक्रममा सर्वोच्च नेता सिंहलाई घरमै नजरबन्द गरिएको थियो । त्यतिबेला उनी गम्भीर रुपमा बिरामी भएर अस्पताल भर्ना हुँदा समेत निरङ्कुश शासकहरूले नजरबन्द नै गरेर राखे । वि.सं. २०४६ साल चैत्र २६ गते देशमा दलमाथिको प्रतिबन्ध फुकुवा गरिएपश्चात् २०४६ साल चैत्र २७ गते काठमाडौंको टुडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने गणेशमान सिंहलाई ‘फादर अफ डेमेक्र्यासी’ (प्रजातन्त्रको पिता) का रुपमा सारा नेपाली जनताले सम्मान गरेका थिए । जनआन्दोलनको यस सफलतापछि राजा वीरेन्द्रले २०४७ साल वैशाखदेखि अन्तरिम सरकारको नेतृत्व गर्न अर्थात् प्रधानमन्त्रीको पद लिन आग्रह गर्दा सिंहले अस्वीकार गर्दै उक्त पद कृष्णप्रसाद भट्टराईलाई दिन अनुरोध गरे । अहिलेका पदलोलप नेतागणले यो कुरालाई राम्ररी मनन् गरून ।


आदरणीय नेता, लौह पुरुष, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, प्रजातन्त्रका पिता, वरिष्ठ राजनीतिज्ञ वीर गणेशमानलाई २०४७ साल पुष ३ गते (सन १९९० डिसेम्बर १८) मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशले अमेरिकामा भेटे । नेपाल तथा विश्वमै मानव अधिकार र शान्ति स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे वापत सम्मान स्वरूप अमेरिकाबाट ‘पिसरन पुरस्कार – १९९०’ तथा ‘मानव अधिकार पुरस्कार – १९९३’ का साथै संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ‘ऊ थान्त शान्ति पुरस्कार’बाट समेत उनी सम्मानित गरिए ।


वि.सं. २०४९ सालमा झापा जिल्लाको कलबलगुडीमा सम्पन्न नेपाली काङ्ग्रेसको सम्पन्न आठौं महाधिवेशनमा उनको त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मतभेद भई २०५१ साल भदौमा उनले नेपाली काङ्ग्रेस छोडे । तर पनि नेपाली काङ्ग्रेसले भने उनलाई सधैं आफ्नो आदरणीय नेताका रुपमा कहिल्यै छोडेको छैन र छोडन पनि हुँदैन । वि.सं. २०५३ सालको नेपाली काङ्ग्रेसको नवौं महाधिवेशनमा उनी अनुपस्थित रहे पनि उनलाई नेपाली काङ्ग्रेस पार्टीको सर्वोच्च नेताको उच्च सम्मान प्रदान नै गरिरहेको पाइन्छ । वि.सं. २०५३ साल भाद्र १० गते उनकी धर्मपत्नी नेपाली महिला आन्दोलनकी धरोहर मङ्गलादेवी सिंहको मृत्यु पश्चात् उनलाई असह्य चोट प¥यो र उनको पनि वि.सं. २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भयो । उनको निधनमा तत्कालीन सरकारले ३ दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा ग¥यो । यसरी एउटा महान् राष्ट्रिय नेता, नेपाली जनक्रान्तिका महान योद्धालाई यस धर्तीबाट बिदा गर्नु परेको पीडाबोध नेपाली जनताले सदासदाका लागि गरिरहनु परेको छ ।

४) राजनेता तथा विद्वान् व्यक्तित्वहरूका दृष्टिमा गणेशमानः
गणेशमान सिंह नेपालको प्रजातान्त्रिक लडाइँका ती वीर पुरुष हुन् जसले जनतासँगको सच्चारलाई सधै ताजा राख्न साङ्गठनिक कार्यलाई अगाडि बढाउनका लागि राणाकालीन निरङ्कुशता र पञ्चायनकालीन निरङ्कुशताका जन्जिरहरू तोडेर साहसका साथ अगाडि बढेका वीर योद्धा हुन् । यस सन्दर्भमा प्रदीप गिरीलगायत केही नेताको दृष्टिकोणहरू यसप्रकार छ, “गणेशमान सिंह यो कालखण्डको अद्वितीय नेता हुन् । उनको राजनीति र जीवनलाई हेर्दा महात्मा गान्धी र नेल्सन मण्डेलाको सम्झना आउँछ । एउटा संयोग हो, जुन बेला गणेशमान सिंह निर्दलीय पञ्चायतका विरुद्ध निर्णायक आन्दोलन फुक्दै थिए । नेल्सन मण्डेला पनि दक्षिण अफ्रिकामा रङ्गाभेदी शासन विरुद्धको आन्दोलनलाई सफलताको निर्णायक मोडमा पु¥याउँदै थिए । २०४६ साल फागुन १ गतेका दिन नेल्सन मण्डेला जेलबाट छुटे, ७ फागुनमा हाम्रो आन्दोलन सुरु भयो । आन्दोलदनको पूर्व सन्ध्यामा हामी मण्डेलाको सफलता चर्चा गथ्र्यौं । विश्वमा लोकतन्त्रको बढ्दो लहरले रोमाञ्चित हुन्थ्यौं । स्मरणीय छ, गणेशमान सिंह र नेल्सन मण्डेला समकालीन हुन् । मण्डेलाभन्दा गणेशमान सिंह ३ वर्ष जेठा भए पनि सङ्घर्ष र निष्ठाको इतिहास उस्तै छ । त्यसैले होला ‘मेरो कथाका पानाहरू’ पढ्दा मण्डेलाको ‘लड्गवाक टु फ्रिडम’ को स्वाद पाइन्छ । “प्रसिद्ध विद्वान् सि.के. लाल भन्छन् –“गणेशमान मानिसभन्दा पनि एउटा विचार हो । उनको विचार आम मानिस स्वतन्त्र रहनुपर्छ भन्ने हो । गणेशमानलाई कुनै उपाधि चाहिदैन सिर्फ गणेशमान सिंह । त्यो विचार कहिल्यै मर्दैन ।” यसै सन्दर्भमा तत्कालीन नेपाली काङ्ग्रेस नेता, महामन्त्री स्व. श्रीभद्र शर्मा भन्छन् –“प्रजातन्त्र प्राप्तिको लागि जति दुःख गणेशमान सिंहले सहनु परेको छ त्याग र तपस्या गर्नु भएको छ, त्यति गर्ने मानिस नेपालमा मैले अर्को पाएको छैन ।” श्रीभद्र शर्मा अझ भन्दछन् –“उहाँको राष्ट्रवादिता चीनसँग सगरमाथाको सवालमा लिनुभएको अडानबाट प्रष्ट हुन्छ ।” प्रसिद्ध साहित्यकार डायमण्ड शमशेर राणा भन्छन् –“वीर गणेशमान भनेर पहिलो उच्चारण गर्ने व्यक्ति वी.पी. कोइराला हुनुहुन्थ्यो । उनी अझै अगाडि भन्छन्– “मेरो त बाजे जर्नेल, बाबु कर्नेल म पनि आर्मी अफिसर थिएँ । २००७ को क्रान्तिका लागि जेलबाट गणेशमानजी भाग्नु भएको मलाई थाहा थियो ………. गणेशमान वीर हुनुहुन्थ्यो । उहाँको वीरत्व अतुलनीय थियो ।” यसै सन्दर्भमा प्रसिद्ध व्यक्तित्व, विद्वान् नेता रामहरि जोशीको भनाइ छ, –“गणेशमानजीको जीवनको सबैभन्दा ठूलो कार्य २०४६ सालको जनआन्दोलनको सर्वमान्य नेतृत्वको थियो रे सबैले देख्ने कुरा हो । ……सबैभन्दा ठूलो काम उहाँको त्यागको अद्वितीय अनुकरणीय उदाहरण हो । काङ्ग्रेस परित्याग ।” त्यसैगरी जोशी भन्छन् –“ उहाँले काङ्ग्रेसका अन्य नेताहरूलाई शिक्षा दिन खोज्नुभएको थियो एउटा सर्वोच्च नेताको रूपमा । तर एउटा यस्तो व्यक्ति जसले गर्दा मुलुकमा प्रजातन्त्र स्थापना भयो । त्यही नेतालाई काङ्ग्रेसले अपमान ग¥यो ।”

५) उपसंहारः
प्रजातन्त्र प्रापितको एक मात्र उद्देश्यका साथ जीवनपर्यन्त सङ्घर्ष गरेका लौह पुरुष, प्रजातन्त्रका पिता, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान् योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर, सर्वोच्च नेता, सर्वमान्य नेता, वीर गणेशमान आदि उपनामले चिनिने गणेशमान सिंहको योगदान नेपालको राजनीतिक आन्दोलनका क्षेत्रमा महत्त्वपूर्ण रहेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा उनकोे कुशल र क्रान्तिकारी व्यक्तित्व फूलको बासना झैं सदासर्वदा मगमगाइरहोस् । उनको त्यो गुण र बलिदानलाई नेपाली जनता र अहिलेका नेतागणले कहिल्यै नभुलून् । यही नै आजको उनको २३औं स्मृति दिवसले प्रेरणा देओस् ।

सन्दर्भग्रन्थ सूची

गौतम, हरि (२०७६), नेपाली क्रान्ति र गणेशमान सिंह, काठमाडौंः ओरियन्टल पक्लिकेशन ।
पाण्डेय, मधुसूदन (२०६१), विश्व प्रसिद्ध व्यक्तित्वहरू, काठमाडौंः पैरवी प्रकाशन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s