
दमौली ,३० भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग माथि सरकारले हस्तक्षप गरेको बताएका छन् ।
सो कुरा भण्डारीले सोमबार शुक्लागण्डकी नगरपालिकाको झारीमा तरुणदलको विस्तार तथा कार्यकता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् । दुई तिहाई शक्ति छ महाअभियोग लाग्न सक्छ भन्ने कुरा अख्तियार सम्म पु¥याएर तर्साउने काम भएकोले स्वत्रन्त्र ढंगबाट अख्तियारले काम गर्न नसेको भण्डारीको भनाई थियो । ‘प्रधानमन्त्री निवासबाट अख्तियार निर्देशित छ त्यस कारण पूर्वाग्राही ढङ्गबाट ठूला माछालाई छाड्ने र सानालाई समाउने काम भएको छ ।’ केन्द्रीय सदस्य भण्डारीले भने ।
अख्तियार प्रमुख नेकपाको गोजीबाट राख्न खोजिएकोले काँग्रेसले विरोध गर्नु पर्ने अवस्था आएको भण्डारीको भनाई थियो । अख्तियार जस्तै संवैधानिक निकाय अदालतलाई पनि सरकारले आफ्नो अनुकुल काम गर्न लगाएको भण्डारीको आरोप थियो ।
नियम र पद्धतिबाट काम गर्न चाहने कर्मचारीलाई सरुवा गरी दुःख दिने गरेको पनि भण्डारीको भनाई थियो । उदाहरण दिँदै भण्डारीले तनहुँमा कार्यभार सम्हालेको तीन महिना पुरा नहुँदै सरुवा गरेर सरकारले आफ्नो चरित्र प्रस्तुत गरेको बताए । वीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रलाई प्रदेश मातहतमा लगेर उपयोगितालाई कमजोर बनाउन सरकार लागेको भण्डारीले बताए । व्यक्तिको स्वास्र्थ भन्दा पनि पार्टीको हितमा तरुणहरुलाई काम गर्न भण्डारीले आग्रह गरेका थिए ।
कार्यक्रम तरुणदलका वडा सभापति राज अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, संविधान सभा सदस्य झुलबहादुर आले, काँग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, नेविसंघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी, नेविसंघ तनहुँका अध्यक्ष चुडामणी खनाल लगायतले गुट उपगुटमा नलागि एकजुट भएर संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा २७ जना नेकपा त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।