
नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा एम्बुलेन्स सञ्चालन अभियान सुरुवात गरेको छ । अभियान सुरुवात सगै एम्बुलेन्स खरीदका लागि सहयोग संकलन अभियान समेत प्र्रारम्भ भएको छ । नेपाल रेडक्रस सोसाईटी दुम्सी उपशाखाले दिएको जानकारी अनुसार एम्बुलेन्स खरीदका लागि ३ लाख १७ हजार ४ सय ४९ रुपैयाँ संकलन भएको छ । समितिले सहयोग संकलन अभियानलाई जारी राखेको छ । उपशाखाका अनुसार एम्बुलेन्स खरीद र सञ्चालन कोष स्थापना गरी कुल ३० लाख संकलन गर्ने लक्ष्य राखिएको छ ।
हुन त एम्बुलेन्स खरीदको विषय कुनै नौलो विषय होइन । जिल्ला रेडक्रस लगायत विभिन्न संघ संस्थाले बर्षौ अगाडि देखि एम्बुलेन्स खरीद गरी सेवा पुरयाउँदै आईरहेको जगजाहेर नै छ । त्यसैले दुम्सी उपशाखाले गर्न लागेको यो कार्यलाई नौलो कार्य भनेर भन्न मिल्दैन । तर सक्रमणको वर्तमान घडीमा जिल्लामा एम्बुलेन्सको अभाव भएको महसुस भईरहेको अवस्थामा उपशाखाले जुन कार्य प्रारम्भ गरेको छ । त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ । तनहुँ जिल्लाको हकमा हेर्ने हो भने जतिपनि संस्थाहरुले एम्बुलेन्स सञ्चालन गरेका छन् । सहि ढंगले व्यवस्थापन नहुँदा लामो समय सञ्चालन हुन सकि राखेको देखिदैन । तसर्थ दुम्सी उपशाखाले एम्बुलेन्स सञ्चालन गर्ने तयारी गर्दै गर्दा सहि हिसाबले सञ्चालन गर्ने योजना बनाउनु पर्दछ । अन्यथा बिरामी बोक्ने एम्बुलेन्स खरीद गरेको केही समय पछि आफै बिरामी हुने अवस्था सिर्जना नहोला भन्न सकिदैन । आशा गरौं, यस विषयमा अवश्य पनि दुम्सी उपशाखाको ध्यान पुग्नेछ ।
सेतीमादी सम्पादकीय