दमौली १ भदौ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले तनहुँको व्यास र भानु नगरपालिकामा निशेषाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार व्यास नगरपालिकामा भदौ १ गते देखि भदौ ७ गते १२ बजे सम्म र भानु नगरपालिकमा भदौ १४ गते सम्म निशेधाज्ञा जारी गरिएको छ ।
विज्ञप्तीमा निशेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका नियमित सेवाहरु , बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने वाह्य सेवाहरु ,सामाजिक संघ संस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेकका अन्य कार्य तथा उद्योग ,कलकारखाना र अन्य व्यवसायहरु सञ्चालन गर्न नपाइने भएको छ ।

विज्ञप्तीमा उल्लेख गरे अनुसार अत्यावश्यक कार्यमा बाहिर ननिस्कन ,निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने र समूहमा निस्कन रोक लगाइएको छ ।त्यस्तै भौतिक र सामाजिक दुरी कायम गर्नुपर्ने ,मठमन्दिर लगायत सार्वजनिक स्थलमा भेला हुन र भिडभाड गर्न नपाईने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला हुन नपाइने उल्लेख गरिएको छ ।