कक्षा ११ र विश्वविद्यालयका परीक्षामा सहजीकरण

सरकारले फलामे गेट मानिएको कक्षा दश अर्थात माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट गने निर्णयपछि कक्षा ११ को हकमा पनि त्यस्तै गर्ने भएको छ । कोरोना महामारीले देशभरि समस्या परेपछि कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्यांकन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको छ । शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले परीक्षाको अधिकार विद्यालयलाई दिने नीतिगत निर्णय गरेसँगै २०४९ सालदेखि शुरु भएको कक्षा ११ को पठनपाठनमा केन्दीय तहबाटै मूल्यांकन गरिएकोमा अब यो कार्यभार विद्यालय तहमा आएको छ । अबदेखि यो परीक्षा विद्यालय तहबाटै नै हुने जनाइएको छ । यसवर्ष कक्षा ११ र १२ मा नौ लाख ६४ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् । कक्षा ११ मा मात्रै पाँच लाख ३२ हजार बढी परीक्षार्थी छन् ।

परिषदले परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्यांकन नम्बर दिने मापदण्ड तथा प्रमाणिकरणको आधार लगायत यसको आवश्यक कार्यविधि बनाउनका लागि राष्ट्रिय परीक्षा वोर्डलाई तोकेको छ । बोर्डलेनै विद्यार्थीको अन्तिम अभिलेख हेर्ने शैक्षिक प्रमापणपत्र दिने भएकोले उसलाई तोकिएको हुन सक्छ । यसले हाल अन्यौलमा रहेको उक्त कक्षाको परीक्षा पनि विद्यालयको आन्तरिक मूल्यांकनबाट हुने निश्चित भएसँगै विद्यार्थी र अभिभावकमा रहेको अन्यौलता हटेर एउटा मार्गप्रशस्त भएको छ । एसइइको विद्यालयले आन्तरिक मूल्याङ्कन गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणीकरण गरी राष्टिय परीक्षा वोर्डले ग्रेडसीट जारी गर्ने जनाइएको छ । कक्षा १२ को हकमा भने पुरानै प्रणालीबाट परीक्षा हुने भनिएको छ । यसैगरी कोरोना भाइरसको महामारीले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका काम अघि बढ्न नसकेपछि विश्वविद्यालय तहमा परीक्षा सञ्चालन गर्न उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण प्रारुप २०७७ स्वीकृत भएको छ । यससम्बन्धी विश्वविद्यालय अनुदान आयोगले एक निर्देशीक जारी गरेपछि विश्वविद्यालय तहमा परीक्षा सञ्चालनको ढोको खुलेको हो ।

अव विश्वविद्यालयले नीतिगत निर्णय लिन मार्गप्रशस्त भएको जनाइएको छ । यसबाट विश्वविद्यालयले सेमेस्टर प्रणालीमा भर्चुअल परीक्षा लिन सक्ने, कारणवश स्थगित परीक्षा आन्तरिक मूल्याङ्कनबाट लिएर माथिल्लो सेमेस्टरमा पठाउन सकिने, प्रयोगात्मक परीक्षा लिन नसिकएकोमा अर्को सेमेस्टरमा लिन सकिने व्यवस्था गर्न सकिनेछ । धेरै विद्यार्थी भएका विश्वविद्यालय तथा विषयको हकमा भने सकेसम्म भौतिक दुरी कायम गरी परीक्षा लिने र त्यो संभव नभएमा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर परीक्षा लिन सकिने लगायतको व्यवस्था गरिएको जनाइएको छ ।

यो अवस्था आउनु कोरोना संकटको उपज हो । त्यसैले नयाँ प्रयोगलाई आत्मसाथ गर्दे , यसलाई समयानुकुला बनाउँदै मूल्यांकनलाई विश्वसनीय बनाएर एकरुपता कायम गरी यसलाई उपलब्धिमूलक बनाउनुपर्छ । यो अवसरका सकारात्मक पाटोबाट यसलाई हेरेर नयाँ परीक्षाका सकारात्मक र राम्रा व्यवस्थाबाट लाभ लिनैपर्छ । विद्यार्थीले पनि यो अवसरलाई आफनो पढाई तिखार्ने, अझै अध्ययनशील र मेहेनती बनाउने सन्दर्भसँग जोडेर गुणस्तर सुधार्ने अवसरका रुपमा लिनुपर्छ । यसमा विकृति, विसंगति भित्रयाउन दिन हुँदैन । परम्परागत ढर्रा र प्रणालीबाट उन्मुक्ति पाउने यो एउटा उत्कष्ट अवसर पनि हुन सक्छ । हामी २१ औ शताब्दीको सूचना प्रविधि मात्र हैन विश्वव्यापीकरणले संसारनै एक गाउँजस्तो बनेको अवस्थामा संसारका जुनसुकै कुनामा पुग्दा पनि हाम्रो पठनपाठन र मूल्यांकनले हरेक उत्तिर्ण विद्यार्थीलाई प्रतिस्पर्धी र रोजगारमुखी बनाउन सक्षम बनाउनुपर्छ । विश्वका जुनसुकै कुनामा पुगेपनि काम गर्न सक्ने सक्षम र योग्य प्रमाणपत्र दिन सक्नुपर्छ । यसैका आधारमा यो अवसरलाई हामीले उपयोग गरी उपलब्धीमूलक बनाउनुपर्छ । सरकार, शिक्षक, विद्यार्थी र अभिभावक समेतको संलग्नतामा यसलाई परिणाममुखी बनाउनुपर्छ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s