नेकपा भित्रको संकट

डम्बर अधिकारी


मुलुक कोरोनाको संकटमा फसेको बेला दुई तिहाइ जनमतसाथ सरकारमा आसिन हुन पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादको भूमरीमा परेको छ । मंसिर ४ र वैशाख १७ यता थामथुम पारिएको विवादको पोको पछिल्लो असार दोस्रो साता शुरु भएको स्थायी समितिको बैठकसँगै उत्कर्षमा पुगेको छ । भारतले आफूलाई हटाउन दूतावास, होटल र आफनै नेताहरुसमेत लागेको भनेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा मुख खोलेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका शीर्ष नेताहरुले उक्त भनाईलाई पुष्टि गर्न चुनौती दिदै प्रम र अध्यक्ष पदबाट राजीनामा दिन माग गरेपछि नेकपाको विवाद फराकिलो बन्दै गएको छ ।

सचिवालय र स्थानीय समितिमा अल्पमतमा रहेका ओलीलाई दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका बहुमत सदस्य एवं नेताहरुले राजिनामालाई कसिलो बनाएपछि यो मुद्धा झन पेचिलो बनेको छ । अझ बिहिबारै सरकारले संघीय संसदको चालु बजेट अधिवेशन अन्त्यको सिफारीस गरेसँगै संशयको बादल मडारिएको आँकलन गरिएको छ । बालुवाटार र खुमलटारमा भएका पार्टीको दुई गुटको भेलाले यो रस्साकस्सीमा एकले अर्कोलाई थकाउने, गलाउने वा मध्यमार्गी धारबाट मिलनविन्दुको खोजी गर्ने प्रयासका बीच संसद अधिवेशन अन्त्यले प्रमको राजीनामालाई टार्ने प्रयत्नका रुपमा एक पक्षले लिएका हुन सक्छन् । गएको तीनै तहको निर्वाचन अघि नेकपा माओवादी र नेकपा एमाले एककिृत भएर दुई अध्यक्षसहितको नेकपा पार्टी गठनले मुलुकमा शान्ति, राजनीतिक स्थिरता र आर्थिक विकाससहितको नयाँ नेपाल बन्ने अपेक्षा मुलुकवासीले गरेका थिए । तर केही समय बाहेक यो दुई पार्टीबीचको एकता प्रीतिकर देखिएन । शीर्ष नेताबीच पद, पार्टी, विधि, संगठन र सरकार सञ्चालनका कुरामा सहमति, समझदारी र समन्वय हुन नसक्दा पार्टीनै फुटलाभन्ने तहसम्मको अवस्थामा आईपुगेको छ । शीर्ष नेताहरुको तिक्तताले मिलेपनि मिलेजस्तो मात्र हुने देखिएको छ । टालटुले पार्टीएकताका र संगठन परिचालनका काम बाँकीनै रहेको र जननजीवीकाका सवालमा सरकार अलोकप्रिय रहेको बेला सृजित यो विवादको विजारोपणले पार्टीसहित कोरोना कहरले जीर्ण बनेको मुलुक र मुलुकवासीको आशालाई निराशामा बदल्दै लगेको छ ।

हुन त नेपालको राजनीतिमा पार्टीभित्र देखिने यसप्रकारको घटना नयाँ र नौलो होइन । कठिन राजनीतिक क्रान्ति सम्पन्न गर्न दल र यसका नेता सफल भएपनि इतिहासका पृष्ठ पल्टाउने हो भने २००७ साल यताका घटना एकपछि अर्को यस्तै झिनाझम्टी, विवाद र विभाजनका कैयौ कठिन मोड र घुम्तीबाट गुज्रेको पाईन्छ । २०४६ यता बहुमत पाएको काँग्रेस छत्तीसे र चौहत्तरे हुँदै मध्यावधि निर्वाचनमा जानु, गणेशमान सिंह र कृष्णप्रसाद भटराई पार्टीबाट अलगिनु, काँग्रेस फुट्नु, महाकाली सन्धिमा एमाले टुक्रिनु, राप्रपाको र मधेवशवादी दलको टुटफुटको कथा झन बेग्लै छ । माओवादी पार्टी पनि टुक्रिदै गयो पछिल्लो समय । राजनीतिक घात, अन्र्तघात र पार्टी टुक्रने जुट्ने सिलसिलको अहिलेको विन्दुमा आइपुग्दा धेरै परिघटनाले हाम्रो राजनीतिक इतिहास गजमजिएको पनि छ । यसपटक दुईतिहाइको सरकार बनेपछि राजनीतिक स्थिरत आउला र देश विकासको गतिमा अघि बढला भनेको बेला कोरोनाले मुलुकलाई संकटको भूमरिमा त लगेकै थियो फेरि सत्तारुढ दलको यो किचलोले मुलुकलाई अझै कहाँ पुरयाउने हो भन्ने आंकलन गर्न गाह्रो बनाएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्नेहरु यदि पार्टीभित्र सहमति र संवादको वातावरण बनेने भने संसदलाई छलेर प्रधानमन्त्री ओेली दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेको अनुमान गर्छन । यसअघि पार्टी र संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन मिल्ने अध्यादेश प्रमले ल्याएर फिर्ता लिएको घटनाले उक्त शंका गर्नेहरुलाई बल मिलेको हो । पद नछाडे अनुशासनको कार्वाही गर्न लगाउने दाहाल पक्षीय नेता तथा बहुमत सदस्यको अडान र दुवै पदमा निर्वाचित भएकोले आफूले पद नछाड्ने प्रधानमन्त्रीको अडानले गर्दा पार्टी विभाजनसम्मको विन्दुमा यो घटना तन्किएर जाने हो कि भन्ने संशय पैदा भएको छ ।

भोकमरीले मानिस मरेका छन् । कोरोना महामारी रोग व्यवस्थापनमा कैयो कमजोरी देखिएर संक्रमितसँगै मर्नेको संख्या उकालो लागेको लाग्यै छ । आत्महत्या, बेरोजगारी, महिला हिंसा, चौपट आर्थिक अवस्था, सलहको प्रकोप र देशको शैक्षिक, सामाजिक, औद्योगिक, बन्द व्यापार लगायत समाजका सम्पूर्ण अवयव थिलोथिलो भएको बेला सत्तारुढ दलभित्रको यो आपसी दन्तबझानले सो पार्टीका शुभेच्छक, कार्यकर्ता र आमनागरिक मात्र हैन देशवासीलाई पनि निराश बनाएको छ । जनतालाई आशा र जागरुक बनाएर ढाडस दिँदै अगाडि बढुनुपर्ने यस्तो अवस्थामा सर्वसाधारणलाई राहत उपलब्ध गराउनुको सट्टा सत्ताको खेलमा लाग्नु सत्तासिन नेकपाको गम्भिर त्रुटी हो । नेताहरुको सुझबुझ र सहमतिले यो विवादको निराकरण गरी राष्ट्रिय समस्या समाधन गरी अघि बढ्न दुवै पक्ष हदैसम्म लचिलो भएर निकास खोज्नुको विकल्प छैन । अन्यथा विभाजनको मार्ग कोरिने निश्चित छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s