आत्महत्याको डरलाग्दो रुप

कोरोनाले विश्वव्यापी रुपमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र दैनिक जीवनयापनमा असर गरेपछि त्यसको समस्याले अहिले मानिसमा तनाव, निराशा र असन्तुष्टि बढेको छ । कोरोनापछि अहिले खासगरी बन्दाबन्दीमा महिला हिंसा, भोकमरी, गरीवी, बेरोजगारीसँगै आत्महत्याको क्रम पनि बढ्दो छ नेपाली समाजमा । गरीवी, अशिक्षा, निराशा, बेरोजगारी लगायतका समस्याले नेपाली समाजमा यो एउटा जटील समस्याको रुपमा विगतमा देखिएको हो । अहिले कोरोनाको कहरमा यो आगोमा घिउ थपिएजस्तो भएको छ । नेपाल प्रहरीका अनुसार एक वर्षमा मुलुकभरि ५ हजार बढीले आत्महत्या गर्छन् । प्रत्येक वर्ष यो क्रम १३ प्रतिशतले बढ्दो छ । नेपाल आत्महत्या गर्नेको सूचीमा विश्वमा १० औं स्थानमा पर्छ । यसले पनि देशमा यो एउटा ठूलो समस्याका रुपमा विद्यमान रहेको देखिन्छ ।

लोककल्याणकारी राज्यका रुपमा हरेक सरकारले काम गर्ने हो भने यो एउटा समस्या रहेपनि व्यक्तिको जीवनयपानलाई सहज बनाउँदै यसलाई न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ सबै सरोकारवालाको ध्यान जानु आवश्यक छ । नत्र अहिलेको अकस्मात थपिएको कोरोनाको बहुआयामिक नकारात्मक असरले यसलाई जटिल मात्र नभएर भयावह पनि बनाउन सक्छ । नेपालमा पनि लकडाउनको शुरुवातीसँगै आत्महत्याको दर बढेको देखिन्छ । प्रहरीको तथ्याङकमा दैनिक सरदर १९ जनाले आत्महत्या गरेको देखिन्छ । यसले एउटा डरलाग्दो तस्विर हाम्रो सामु उपस्थित भएको छ । तनहुँकै सन्दर्भमा पनि बन्दाबन्दीमा ३५ जनाले आत्महत्या गरेका छन् । अझ एकै दिन ४ जनासम्मले आत्महत्या गरेको देखिन्छ । एउटै जिल्लामा देखिएको यसको तथ्यांक र कारणलाई बेलैमा मिहिनरुपले केलाउन नसके भोलिको हाम्रो समाजको निराशाको पाटो झन बढ्न सक्छ । यसको रोकथाम, नियन्त्रण र सचेतनाका लागि सबैको सामूहिक प्रयास आवश्यक छ ।

डिप्रेसनका कारण अधिकांश मानिसले आत्महत्या गर्छन् । यसको ज्वलन्त उदाहरण केही समय अगाडि बलिउडका चर्चित नायक सुशान्तले गरेको आत्महत्याको घटनालाई लिन सकिन्छ । परम्परागत समस्याका अलावा आधुनिक युगमा थपिएको भड्किलो, महत्वाकांक्षी, प्रविधियुक्त र जटिल जीवनशैली आत्महत्याको कारण बनेको छ । समयको चाप अनुसार हिड्ने र समयसँग जिउने अभ्यासले यसलाई सहज बनाउन सक्छ । राज्य, समाज र परिवारको सामूहिक प्रयासबाट आत्महत्याको यो अँध्यारो पक्षलाई हटाएर उज्यालो फैलाउने मार्गप्रशस्त गर्न सकिन्छ । डिप्रेसन, निराशा, तनाव, असन्तुष्टि, गरीवी, अशिक्षा, वेरोजगारी र अनावश्यक महत्वाकांक्षालाई हटाउन आवश्यक पर्ने पूर्वाधारको तयारी गर्नुपर्छ । राज्यको नीति, कार्यक्रम र बजेट यसलाई हटाउनेतर्फ केन्द्रित हुनुपर्छ । एक्लोपन होइन सामूहिकता, समस्या होइन समाधान र निराशा होइन आशा जगाउने तहमा सरकार, समाज र परिवारका सदस्य एकसाथ जुटन ढिलाई गर्न हुँदैन । साथै प्रेममा असफल भएर आत्महत्या गर्ने क्रम समेत समाजमा व्याप्त छ । यो लगायतका समस्या समाधान गर्न मानसिक स्वास्थ्यसहित आवश्यक परामर्शको लागि विशेषत स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ । समग्रमा राज्यले लोककल्याणकारी अवधारणाको विकास गरेर समाजमा शान्ति, विकास र अमनचयनको प्रत्याभूति गर्नुपर्छ । संविधानले निर्धारण गरेका मौलिक हकको कार्यान्वयन गरेर अघि बढ्नुपर्छ जसले नागरिकको गाँस, बाँस र कपास मात्र नभएर राजनीतिक अधिकारसहित स्वतन्त्र जीवनयापनको विषयलाई सुनिश्चित गर्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s