तनहुँमा कोरोनाको कहर सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द

दमौली १० चैत विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड—१९)को त्रासका कारण तनहुँका स्थानीय तहहरुले अत्यावाश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेका छन् । यसक्रममा सदरमुकाम स्थित व्यास नगरपालिकाले आइतबार एक विज्ञप्ती जारी गरी व्यास नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा सम्बन्धी कार्य, नगरपालिकाको आन्तरिक सुरक्षा एवं बजार व्यवस्थापन सम्बन्धी कार्य बाहेक अन्य सेवाहरु बन्द हुने उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार चैत ९ गते देखि २१ गतेसम्म सेवाहरु अत्यावाश्यक बाहेकका अन्य सेवाहरु बन्द हुनेछन् । यसैगरी आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले समेत आइतबार नै एक विज्ञप्ती जारी गरी आँबुखैरेनी गाउँपालिकामा समेत चैत ९ देखि २१ गते सम्म अत्यावाश्यक सेवा बाहेक बन्द हुने जनाएका छन् । साथै विज्ञप्तीमा प्रवक्ता थापाले राष्ट्रिय विपत्तिको यो घडीमा सबै सर्तक हुनुपर्नेमा समेत जोड दिइएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिकाले कोरोनाको त्रास फैलिएको वर्तमान अवस्थामा स्थानीयलाई सजग रहन अपिल गरेका छन् । ति स्थानीय तहहरुले भीडभाडमा सहभागी नहुन तथा पटक—पटक साबुन पानीको प्रयोग गर्न समेत अपिल गरेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिती पातलो यता कोरोना भाइरसको त्रास बढेसगै आइतबार सर्वसाधारणको बढी भीडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालयका लगायत जिल्लाका अन्य सरकारी कार्यालयहरुमा समेत सर्वसाधारणको उपस्थिती निकै पातलो रहेको थियो ति कार्यालयहरुमा सर्वसाधारणहरुको संख्या निकै पातलो हुने अनुमान गरिएको छ ।